काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबण्डाका विषयमा छलफल हुने जनाइएको छ । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डामा सकस देखिएको छ । आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबण्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो । तर, दलहरू आ-आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो ।
स्रोतका अनुसार नेपाली कांग्रेसले ६ वटै महानगरपालिकामा आफ्नो दाबी प्रस्तुत गरेको थियो । नेकपा (माओवादी केन्द्र) ले भरतपुर महानगर छाड्न मानेन भने दुईवटा उपमहानगरमा पनि दाबी कायमै राखेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले महानगरपालिकामा पोखरा मागेको छ भने उपमहानगरमा बुटवल, हेटौंडा र इटहरी मागेको छ । जनता समाजवादी पार्टी (जसपा) ले पहिल्यैदेखि वीरगञ्ज दाबी गरेको छ । शीर्ष नेताको बैठकमा विस्तृत छलफल गरेर भागबण्डा टुंगो लगाउने तयारी छ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय निर्धारण गरेको छ ।




