फाइल फाेटाे

आज भक्तपुरमा जिब्राे छेड्ने जात्रा

काठमाडाैँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौंपटक जिब्रो छेडाउने भएका छन् ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ । जिब्रो छेड्ने पाँचौ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिब्रो छेड्ने व्यक्तिको जिब्रो छेडिदिन्छन् ।

एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ । यसपछि उक्त परिवारमा भोज खाने प्रचलन छ ।

यसैगरी भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैठौं दिन शुक्रबार नै मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइँदै छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ ।

देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस