काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्दैछ । यसअघि आइतबार बसेको बैठक आज फेरि बस्ने गरी सकिएको थियो ।
बिहान ९ बजेपछि बस्ने बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा। बेदुराम भुसालले जानकारी दिए । उनकाअनुसार चुनावी तालमेलको मोडालिटीबारे पनि छलफल हुनेछ ।
यसअघि गत बुधबार बसेको समितिको बैठकले २६ चैतभित्र गठबन्धनको अवस्थाबारे प्रतिवेदन बुझाउन तल्ला तहका संयन्त्रहरुलाई निर्देशन दिएको थियो । २२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।
समितिमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् ।




