काठमाडौँ । चितवनको चितवन एक्स्पो सेन्टर, भरतपुरमा कृषि कर्जा मेला सुरु भएको छ। बुधबारदेखि सुरु भएको भेला चैत १२ गतेसम्म सञ्चालन हुनेछ । बुधबार आयोजित उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यू’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताएका छन् । मूल्य शृङ्खला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए ।
‘नबिल बैंकले दिगो बैंकिङ अगाडि बढाएको छ। त्यसको प्रमुख कार्यक्रम कृषि छ’ उनले भने, ‘हाम्रो उर्भर जमिन भोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततिको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो। जुन दिगो विकास हो ।’
उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे । ‘कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्ने गरी अगाडि बढौँ’ उनले भने, ‘बैंकले निक्षेपकर्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरि मूल्य शृङ्खला निर्माणा गरौँ, बैंकले कृषिमा लगानी गर्छन् ।’
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । शाहले आफ्नाे अनुभव सुनाउँदै भने, धेरै ठाउँमा जाँदा तपाईँहरू किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्यो । घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ, उनले सुनाए ।
‘नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसानसँग पठायौँ, गाउँमा खेत त छ तर किसान साउदी, मलेसिया र जापानमा रहेछन् । जो किसान रहेछन् उनीहरुले पैसा रोपेर केही हुँदैन बीज चाहियो भन्ने रहेछन्’ बैंकर शाहले भने, ‘बीज भए पुग्छ भन्दा मल पनि चाहियो, बीज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भन्ने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानी र बजारीकरण पनि चाहिने रहेछ भन्ने गुनासो आयो ।’
उनले बैंकहरू कर्जा दिन तयार भएपनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । ‘कर्जा दिन बैंक तयार छौँ तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै हैन तिर्ने मात्रै हैन त्यसबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नु भएको छ,’ उनले भने, ‘नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडि बढेका छौँ । हामी प्रतिबद्धता जनाउँछौँ, तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिँदैन लगानी गर्न समस्या हुन्छ ।’
बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा सुरक्षित देखिँदैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए । ‘अब त्यो ‘इको सिस्टम’ बनाउन बैंकहरू अगाडि बढ्छन् । ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिए पनि पछि हट्दैन । तर, हामी साँवा र थोरै ब्याज उठ्छ भन्ने वातावरण देख्न चाहन्छौँ ।’




