प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरि तथा व्यापारघाटा घटाउने गरि नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरि अघि बढ्न पनि निर्देशन गरेका थिए । उनले मन्त्रालय एवं माताहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरि नीति तय गर्न पनि निर्देशन दिए।
प्रधानमन्त्री देउवाले व्यापारघाटा घटाउन विद्युतकाे खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधनका साथै विद्युतीय चुलोलगायतको प्रयोग बढाउने खालका नीतिहरु अघि बढाउन पनि सम्बद्ध सबै अधिकारीहरुको ध्यानाकर्षण गराए।
उक्त समीक्षा कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरु पनि सहभागी थिए।



