मोरङको लेटाङमा प्रहरीको खानतलासी तीव्र, पाँच जना पक्राउ

काठमाडाैँ । एक महिला प्रहरीको ज्यान जानेगरी आइतबार मोरङमा भएको झडपपछि प्रहरीले खानतलासी र अनुसन्धानलाई तीव्र पारेको छ । अनुसन्धानका क्रममा प्रहरीले आज बिहान पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले तत्काल पक्राउ परेका पाँचजनाको नाम खुलाएको छैन ।

झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा आज बिहान बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काशिराज दाहालका अनुसार लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको हो ।

एक महिला प्रहरी जवानको निधन हुनुका साथै करिब २८ जना घाइते भएका थिए । तीमध्ये केही सामान्य र केही गम्भीर घाइते रहेको प्रजिअ दाहालले बताए । उनका अनुसार घाइतेको मोरङको विभिन्न अस्पालमा उपचार भइरहेको छ ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री