अध्यक्ष प्रचण्डलाई आकांक्षी व्यवस्थापन गर्नै सकस

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । गत शुक्रबारदेखि शुरु बैठकका एजेन्डामा थप गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएपछि आज बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

पुसमा सम्पन्न आठौँ महाधिवेशनले चयन गर्न बाँकी पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयन तथा केन्द्रीय समिति थप गर्ने विषयमा माओवादी केन्द्रभित्र छलफल चलिरहेको छ । तर, सहमति जुट्न नसक्दा महाधिवेशनपछिको पहिलो बैठक नै पटकपटक सर्दै आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आकांक्षी व्यवस्थापन गर्नै सकस भएको छ ।

शुक्रबारदेखि शुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुट्न नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन । सहमति जुट्न नसकेको अवस्थामा अरू एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थालेका छन् ।

माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख गरिएको छ । तर, अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ ।

यसअघिको बैठकबाट अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरिएको थियो । ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै हुन सकेको छैन ।

अध्यक्ष प्रचण्डका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरूसँगको छलफल र सहमतिमै सबै विषय सर्वसम्मत टुंगो लगाउने प्रयास जारी रहेको बुझिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री