ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचानसहितको Coop Card जारी गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाइँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
बढ्दै गएको सहकारीको भूमिका र कारोबारसमेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा Coop Card जारी गर्न लागिएको हो।
ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले Coop Card जारी गर्नेछन्। यसका लागि SCT ले चाइना युनियन पे (UPI) सँग सहकार्य गर्दै आएको छ।
सहकारीका सबै सदस्यलाई सेवा पुर्याउँदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको Coop Card जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतकाATM/POS मार्फत सहजै चलाउन सकिनेछ ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी Coop Card जारी गर्न सक्नेछन् ।




