सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो।
बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताए।
लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा संसदमा विचाराधीन महत्वपूर्ण विधेयकमाथि छलफल हुन नसकेकाले संसद् बैठक सुचारु गर्ने सम्बन्धमा गम्भीर रुपमा छलफल भएको नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री कार्कीले बताए।
बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट अनुमोदन भएपछिको विषयमा पनि छलफल हुनुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई सबैको सहमतिमा अनुमोदन गर्नका निमित्त योगदान गरेका सबै दलका नेतृत्वलाई धन्यवाद व्यक्त गरे।




