सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले ५ वर्षभित्रमा करिव ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनेतर्फ सरकार रहेको बताए । उनले एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुलाई अब एमसीसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरे ।
मन्त्री कार्कीले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने बताए । उनले आजको बैठकमा अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भूमिका र संसद अवरोधका बारेमा छलफल केन्द्रित भएको जानकारी दिए । बैठकमा नागरिक विधेयक, हवाइ उड्डयन जस्ता विधेयकहरुको बारेमा पनि छलफल केन्द्रित भएको छ ।



