विद्यार्थीलाई खोप लगाउन आजदेखि ५ दिन विद्यालय खुलाइने

सर्लाहीका छात्रछात्रालाई आजदेखि कोरोनाविरुद्धको मोडर्ना खोप लगाइने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि माघ २१ गतेसम्म विद्यालय खुलाइने छ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार विद्यालयमा पठनपाठन भने माघ मसान्तसम्म नै बन्द हुनेछ।

जिल्लामा एक लाखभन्दा बढी विद्यार्थीले मोडर्ना खोपको पहिलो डोज लगाएका छन्। सबै पालिकामा खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले बताए।

डीसीसीएमसीको बैठकले कतिपय निजी विद्यालयले अहिले पनि पठनपाठन गराइराखेकाले यसमा निगरानी गर्ने, आमसभा, जुलुस, भेला तथा धेरै मानिस भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुञ्जेल सञ्चालन नगर्नेसमेत निर्णय गरेको प्रजिअ गौतमले जानकारी दिए।

जिल्लाका सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ८८ हजार नौ विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री