किन बढेन नेपालको जनसंख्या ?

काठमाडाैँ । २०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ ।

२०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको देखाएको छ । २०४८ सालदेखि जनसंख्या वृद्धिदर घट्दै आएर २०७८ सालमा १ प्रतिशतभन्दा कम भएको छ । यही अनुपातमा घट्दै गएको खण्डमा मुलुकमा विकसित मुलुकमा झैं जनसंख्या घट्दै जाने चिन्ता गर्न थालिएको छ । युवा पुरुष विदेशी रहेकाले र महिलामा प्रजनन् क्षमता घट्दै गइरहेकाले भविष्यमा समस्या आउने भन्दै चिन्ता प्रकट गर्न थालिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जुन १० वर्षअघिको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । राष्ट्रिय तथ्यांक विभागअनुसार कुल जनसंख्यामा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । यो कुल जनसंख्याको ४८.९६ प्रतिशत हो । महिलाको संख्या भने १ करोड ४९ लाख १ लाख १ सय ६९ रहेको छ । नेपालमा महिला ५१.०४ प्रतिशत रहेको छ ।

जनगणना घर र परिवार संख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार जम्मा ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेका देखिएको छ । २०७८ सालको जनगणनाले नेपालमा संयुक्त परिवारबाट एकल परिवार बढ्न थालेको देखाएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । १० वर्षमा १३ लाख ३३ हजार ७ सय ५७ वटा परिवार थप भएकोबाट नेपाली जनता एकल परिवारमा टुक्रिन थालेको देखाएको हो । परिवारको आकार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ ।

जनसंख्या वृद्धिदर भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ ।

प्रदेशअनुसारको जनसंख्या, वृद्धिदर र परिवर्तन प्रदेशगत रूपमा जनसंख्याको वितरण सबैभन्दा धेरै जनसंख्या मधेस प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ ।

जिल्लाअनुसारको जनसंख्या र वृद्धिदर प्राप्त प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६ सय ४५ जनाको बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्ला हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्छन् ।

भक्तपुर जिल्लामा सबैभन्दा धेरै वार्षिक वृद्धिदर ३.३२ प्रतिशत रहेको छ भने रामेछाम जिल्लामा १.६५ प्रतिशतले ऋणात्मक रूपमा घटेको छ । ३२ ओटा जिल्लामा जनसंख्या विगतको तुलनामा घट्दै गएको देखिएको छ ।

कुल जनसंख्यामा सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या ३३.९२ दशमलव पुगेको छ । संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या बढेको हो ।

सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकाहरूमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकामा क्रमशः ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी पर्छन् । सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ४५ हजार ७ सय ६७ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या रहेको छ ।

धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३ सय १५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ३ सय ९८ जना रहेको छ ।

नेपालको जनघनत्व १ सय ९८ जना प्रतिवर्ग किमि पुगेको छ, जुन २०६८ सालमा १ सय ८० जना मात्र थियो । भौगोलिक क्षेत्रअनुसार २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३ सय ९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल २०७८ को प्रारम्भिक नतिजाअनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४ सय ६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५ हजार १ सय ८ जना प्रतिवर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ । जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्ला हुन् । त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रतिवर्ग किमिभन्दा कम रहेको छ । अक्सर विदेशमा बसोबास गर्ने जनसंख्या जम्मा २१ लाख ६९ हजार ४ सय ७८ व्यक्ति रहेका छन् । जसमध्ये १७ लाख ६३ हजार ३ सय १५ पुरुष र ४ लाख ६ हजार १ सय ६३ महिला छन् ।

१० वर्षअघि विदेशमा १९ लाख २१ हजार ४ सय ९४ थियो । सबैभन्दा बढी विदेशमा बस्नेहरूको पाँच जिल्लाहरूमा काठमाडौं, कैलाली, झापा, रूपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश बस्ने पाँच जिल्लाहरूमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् । –राजधानी दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री