जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।
रौतहटको गौरमा माघ ५ गते ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौरकाण्ड दोहोर्याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ। उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन्।
‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो अभिव्यक्ति कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको भन्दै उनले सिके राउतलाई मार्ने धम्की नदिएको नाम उल्लेख नगरी बताएकी छन्।




