काठमाडौं । कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ । वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै खोप लगाएका थिएनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
अन्य स्वास्थ्य संस्थामा समेत खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका वा अरू रोग लागेका संक्रमितको मृत्यु भइरहेको छ ।
युनिफाइड केन्द्रीय अस्पतालका उपनिर्देशक डा। प्रज्वल श्रेष्ठका अनुसार वीरमा शुक्रबार ३२ वर्षीय पुरुष, बिहीबार ३६ र ५० वर्षका दुई महिला एवं ८९ वर्षका एक पुरुष र बुधबार ६९ वर्षकी महिलाको मृत्यु भएको थियो । ‘दोस्रो लहरको डेल्टा भेरिएन्टको दाँजोमा ओमिक्रोन संक्रमणमा मृत्यु दर कम छ,’ डा। श्रेष्ठले भने, ‘वीरमा मृत्यु भएका पाँचै जना खोप नलगाएका हुन्, उनीहरूमध्ये धेरैमा कोमर्बिडिटीसमेत देखिएको थियो ।’
शुक्रबार मात्रै कोभिडका कारण ३ जनाको मृत्यु भएको छ । ‘हालसम्म मन्त्रालयमा आएको ३४ जनाको मृत्यु प्रतिवेदनमा ४ जनाले मात्र खोप लगाएको देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । तेस्रो लहर सुरु भएयता शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको उनले बताए । अधिकारीका अनुसार मृत्यु हुनेहरूमा ८८.२३ प्रतिशत खोप नलगाएका छन् । पछिल्लो एक सातामा मात्रै देशभर २२ जनाको मृत्यु भएको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा समेत पछिल्लो एक सातामा दुई जना खोप नलगाएका र दुई जना पूर्ण खोप लगाए पनि दीर्घरोग भएकाको मृत्यु भएको निर्देशक डा. दिनेश काफ्लेले बताए । गत माघ ३० गते दुई मात्रा खोप लिइसकेकी ७१ वर्षीया एक जना दीर्घरोगी र उस्तै रोग भएकी खोप नलिएकी ५३ वर्षीया महिलाको मृत्यु भएको थियो । यस्तै, शिक्षण अस्पतालमा माघ १ गते खोप नलाएकी र दीर्घरोग भएकी ५३ वर्षीया महिला र बिहीबार पनि दुवै मात्रा खोप लगाएकी दीर्घरोगी अर्की ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । -कान्तिपुर दैनिकबाट




