नेपाल बैंकद्वारा ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक’ विजेता विद्यार्थीलाई सम्मान

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्न सफल बिद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपुरबाट स्नातकोत्तर तह उत्तीर्ण रामप्रसाद खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए।

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्बोत्कृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको दिन प्रदान गरिन्छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले पदक विजेता रामप्रसाद खरेललाई बधाई ज्ञापन तथा सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंक लिमिटेडको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पदक बिजेता विद्यार्थी रामप्रसाद खरेलले नेपाल बैंक लिमिटेडको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैंक लिमिटेडप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप