नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताएका छन्।
महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृह जिल्ला गएका उनले झापा र झापालीलाई आभार व्यक्त गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनःस्थापनाको भ्रम नफैल्याउन आग्रह गरे। संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणको अगुवाई गर्ने उनको भनाइ थियो।
उनले पार्टीको १४औँ महाधिवेशनले आम कार्यकर्तामा ऊर्जा भरेको चर्चा गर्दै चुनावमा भएको हार जितलाई लिएर कसैले कसैसँग पनि पूर्वाग्रही र विभेद्पूर्ण व्यवहार नगर्न अनुरोध गरे। उनले आफूलाई आम कार्यकर्ताले विवेकको मत दिएको हुँदा पार्टीलाई सबल र सशक्त बनाउन दृढतापूर्वक लाग्ने बताए।
उनले झापा जिल्ला विद्रोहको विम्ब भएको र मुलुकको प्रजातान्त्रिक एवं वामपन्थी आन्दोलनको विद्रोह झापामै भएको उल्लेख गर्दै आफूले महामन्त्रीको उम्मेदवार हुँदै गर्दा वाचा गरेको २४ बुँदे अवधारणा पूरा गराउन प्रतिबद्ध रहेको बताए।




