काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।
राष्ट्रिय जनगणनाका अवसरमा उनले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवा सुविधासम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गरेका छन् ।
यसबाट प्राप्त हुने तथ्याङ्क केन्द्रदेखि स्थानीय तहसम्म नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन् । सन्देशमा प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन्, ‘विगतमा हामी कुन अवस्थामा थियौँ, अहिले कुन अवस्थामा छौँ र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ ।’
प्रधानमन्त्री देउवाले जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आ–आफ्ना घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराई दिनु हुन सम्पूर्ण देशवासीलाई अनुरोध गरेका छन् ।




