काठमाडौं । नेइमारले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति फ्रेन्च लिग वान फुटबलमा बोर्डोलाई ३–२ ले हराएको छ ।
भ्रमणकारी पीएसजीले ६३औँ मिनेटमा ३–० को अग्रता लिए पनि अन्तिम मिनेटमा सम्हालिन नसक्दा दुई गोल खाएको थियो । एमबाप्पेले एक गोल आफैले गर्नुका साथै नेइमारको दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए । पीएसजीले २६औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । नेइमारले ४३औं मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए । ६३औं मिनेटमा एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले ३–० को अग्रता लिएको थियो ।
बोर्डोका अलबर्थ इलिसले ७८औँ मिनेटमा गोल फर्काए । इन्ज्युरी समयमा घरेलु टोली बोर्डोका एम’बाए नियाङले गोल गरे पनि बोर्डोलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो ।
कुर्कच्चा र ह्यामस्ट्रिङ चोटका कारण लियोनल मेसीले यो खेल गुमाएका थिए । जितपछि पीएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ । पीएसजीले १३ खेलबाट ३४ अंक जोडेको छ । दोस्रो स्थानको लन्सको २४ अंक छ । तेस्रो स्थानको निसको २३ अंक छ । निसले एक खेल कम खेलेको छ ।




