राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो, राष्ट्रपतिले दिइन् सेलरोटीसहित दक्षिणा दान

राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए। त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए। राष्ट्रपति भण्डारीले देउसीभैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणासमेत प्रदान गरेकी थिइन्। उनले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैंले दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पुर्याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताइन्।

उनले सांस्कृतिक संस्थानले नेपालको लोक–संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै आज प्रस्तुत देउसीभैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिइन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप