विराटनगर।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडावाला मान्छे मात्रै लाग्ने बताएका छन्। ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका पुग्नु जस्तै हो भनेको स्मरण गर्दै उनले यस्तो बताएका हुन्।
नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीका पछाडि नलाग्ने दाबी गरे।
कार्यक्रममा केपी ओलीका विरुद्ध मात्रै बोलेका नेता नेपालले एमालेभित्र ९ हेक्टर भुइँचालो आएपछि कम्युनिस्ट आन्दोलन बचाउनका लागि अलग बाटो रोजेको बताए। आउने चुनावमा एमाले भन्ने पार्टीलाई टर्च बालेर खोज्नुपर्ने उनको भनाइ थियो।
सत्ताको घोडामा चढेको बादशाहलाई सडकमा पछारेको भन्दै उनले अब एक नम्बर प्रदेशको सरकारलाई पनि यही हप्ताभित्र सडकमा पछार्ने बताए। कांग्रेस, एकीकृत नेकपा माओवादी, जसपालगायतका गठबन्धन दलसँग छलफल सकिएकाले राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ।
उनले राजेन्द्र राईलाई जनताको सरकार भनेर चिनाउने गरी काम गर्न निर्देशन दिए। धनीका समस्या होइन गरिबका समस्या बुझ्ने खालको भएर काम गर्न उनले राईलाई निर्देशन दिएका थिए। पार्टीमा बढेको जनलहर देखेर एमाले कार्यकर्तालाई १ सय ४ डिग्री ज्वरो आएको समेत उनको भनाइ थियो।




