नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्न ६ विद्यार्थी संगठनले माग गरेका छन्।
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर, विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यबृद्धिले आम-नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन्।
आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रहि केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति उनीहरुले कडा आपत्ति जनाएका छन्।
मुलुकका ८० लाख बिद्यार्थीको प्रतिनिधि संगठनहरुको विज्ञप्ति र सालिन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरुको चेतावनी छ।




