नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने बताएका छन्।
चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नुपर्ने बताए।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सतर्क हुनुपर्ने बताए।
यस विषयमा सत्ता गठनबन्धनबीच छलफल गरेर एक दुई दिनमै उचित निस्कर्षमा पुग्ने उनको भनाइ थियो। प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उनले कुनै छलफल नभएको बताए।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीलाई बलियो बनाउनका लागि सबै कार्यकर्ताले सङ्कल्प गर्नुपर्ने समय आएको बताए।
नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा अध्यक्ष दाहालले आफूलाई विजयी गराउन एमालेले सुरुआत गरेको बताए। एमालेले महाधिवेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको उनको भनाइ थियो। आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार हुने अध्यक्ष दाहालले प्रष्ट पारे।



