लेउती खोलाको बाढीले धरान-धनकुटा सडक पूर्णरूपमा अवरुद्ध

धनकुटा।

अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।

लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका-६ फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन्। मंगलबार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोसी राजमार्गमा सडकमा पसेको थियो।

उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन। खोला उर्लिएको छ। बालुवा तथा माटोसहितको बाढी आइरहेको छ।

बाटो बगाएपछि अहिले सडक पूरै अवरुद्ध छ। धरानदेखि आएका र धनकुटाबाट गएका गाडीहरू बाटोमा नै रोकिएका छन्। सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुसभाबाट तराई जाने तथा तराईबाट धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभा जाने यातायातका साधन बाटैमा रोकिँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। पानीको बहाव बढेका कारण सडकमा अझै क्षति हुने सम्भावना रहेको उनले बताइन्।

राईका अनुसार तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन। यसकारण चाँडै सडक खुल्ने सम्भावना पनि छैन। अविरल रूपमा पानी परिरहेका कारण राजमार्गका वरपरि पहिरोको संभावना अझ बढेको छ। बढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री