मधेशलाई खुशी बनाउन नसके आगामी निर्वाचनमा कांग्रेसले ठूलो घाटा खानु पर्छ: विमलेन्द्र निधि

जनकपुरधाम।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन्। विगत केही दिनदेखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधिले सोमवार पत्रकारहरूसँग कुराकानीमा पार्टीको जनाधार मधेश नै रहेकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताए।

कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको भन्दै नेता निधिले भने,‘ कांग्रेस जहिले पनि मधेशकै भाेटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ। मधेशको सहयोगबिना कांग्रेसले कहिल्यै पनि निर्वाचनमा राम्रो गर्न सकेन। त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ। पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन्। तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ।’

मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको र शुभकामना पनि दिएको नेता निधिले बताए।

पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गर्दै नेता निधिले भने, ‘पार्टीका अधिकांश शीर्ष नेताहरूले पार्टीलाई मधेशको सहयोगको अति आवश्यक छ, तपाईं अगाडि आउनुस्, हामी सहयोग गर्छौं भनेर आश्वासन पाएको छु। र मलाई लाग्छ उहाँहरूले मलाई सभापतिमा सहयोग गर्नुहुन्छ ।’

पार्टीका शीर्ष नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग सभापतिको विषयमा निरन्तर छलफल भइरहेको नेता निधिले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री