आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ।
सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ। गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ।
दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ। नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ।
नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ। नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन्। तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन।




