काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डललाई पूर्णता दिने तयारी अगाडि बढाएसँगै सत्ता साझेदार दलहरू आफ्नो भागमा परेका मन्त्रीको नाम टुङ्गो लगाउन जुटेका छन् ।
आफ्नो तर्फबाट सरकारमा सहभागी गराउने मन्त्रीको नाम टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) आज (बिहीबार) बिहानैदेखि छलफलमा जुटेको छ । अहिले जसपाका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।
सरकारमा क–कसलाई पठाउने भनेर निश्चित गर्न बिहान ८ बजेदेखि सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा अध्यक्षसहित तीन शीर्ष नेताको बैठक बसिरहेको हो । अध्यक्ष यादव, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र अशोक राई मन्त्रीको नाम टुङ्गो लगाउन बैठकमा बसेको जसपाका एक सांसदले बताए ।
चार जनामध्ये दुई जनाको नाम करिब करिब टुङ्गो लागेको ती नेताले दाबी गरेका छन् । महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भएको बताइएको छ । इस्तियाक राई र अम्रिता अग्रहरिमध्ये एक र अन्य एक जनाको नाम टुङ्गो लगाउन बाँकी छ ।
ती सांसदले भने, ‘अहिले अध्यक्षसहित तीन शीर्ष नेताको बैठक बसिरहेको छ । त्यसबाट टुङ्गो लाग्छ ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय परेका छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा पठाउनका लागि बुधबार नै तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाइसकेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री टुङ्गो लगाउन छलफल अगाडि बढाइसकेको छ । यस्तै काँग्रेसले पनि मन्त्रीको टुङ्गो लगाउन हिजो शीर्ष नेताको बैठक बोलाए पनि सहमति जुटिसकेको छैन ।




