काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिट बैंकिङ सेवाको सुरुआत गरेको छ।
बैंकले आफ्ना बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुआत गरेको हो।
हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिना चेक ई–क्यास पठाउने, रकम जम्मा गर्नुअघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिनेलगायतका सुविधा थप गरेको छ।
यसका साथै ग्राहकले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्नेलगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन्।
यस स्तरोन्नतिसँगै अब बैंकका ग्राहकले बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसीबसी विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ।



