नेपालमा १०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।
प्राधिकरणको तथ्याङ्कअनुसार असारसम्म तीन करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत जेठमा दुई करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो।
उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। असारसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६ दशमलव ०३ प्रतिशत छ। एक करोड २८ लाख ९४ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड ४ लाख र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ।
फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव ६६ प्रतिशत रहेको छ। यसमा एडिएसएलका ७ लाख २८५ हजार र एफटिटिएच इन्टरनेट ७ लाख २७ हजार बढी रहेका छन्।




