राष्ट्रियतामाथि हमला भइरहेको विप्लव समूहको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो। पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन/चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए।

उनले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए।

सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक संंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताए ।

प्रवक्ता प्रकाण्डले सरकारले यदी मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिए। एमसीसी मुर्खता गरेर पनि पास गरे देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने बताउँदै प्रवक्ता प्रकाण्डले १० वर्ष युद्ध लडेका प्रचण्ड र राणाविरुद्धको आन्दोलनमा कांग्रेसले गर्नुपरेको बलिदानलाई सम्झन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री