गृहमन्त्री खाण सिन्धुपाल्चाेककाे बाढी प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रमा

गृहमन्त्री बालकृष्ण खाण आज सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची पुगेका छन्। बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न उनी त्यहाँ गएका हुन्। गत असार १ र साउन १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराेले ठूलो धनजनको क्षति भएको थियो।

गृहमन्त्री खाणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। गृहमन्त्री खाणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिए। साथै टोलीले सो क्षेत्रमा बाढीपहिराेबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाको बारेमा जानकारी लिएको थियो।

गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए।

कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण

गृहमन्त्री बालकृष्ण खाणले आजै उदयपुरको बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको पनि निरीक्षण गरेका छन्। गृहमन्त्री खाणसहितको टोलीले बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्। उनले कोशी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नै नयाँ योजना र कार्यक्रम ल्याउने बताए।

बेलका नगरपालिकका प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोशी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नु परेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किलोमिटर लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोशी कटानका कारण विस्थापित हुने अवस्थामा आइपुगेको जानकारी गृहमन्त्री खाणलाई गराए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास …

प्रतिकृया दिनुहॊस