दार्चुलाको दुहुँमा बाढी : तीनको मृत्यु, दुई बेपत्ता

काठमाडाैँ । दुई दिनदेखिको लगातार वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलाको दुहुँ गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । राति सुतिरहेको अवस्थामा खसेको पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका– १ बासपालिकाका नरसिंह महर र उनकी श्रीमती कौशाको मृत्यु भएको हो ।

त्यस्तै, दुहुँकै ५ नम्बर वडा दुल्लामा राति नै पहिरोसहितको बाढी घरमा पसेपछि मनुवा डडालको मृत्यु भएको छ । सुतिरहेका वेला पसेको बाढी पहिरोमा परी उनकी श्रीमती उजली घाइते भएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । उजली र सोही ठाउँका अर्का घाइते जनकराम कामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि धनगढी लगिएको छ ।

दुहुँ– ३ मा निजाङगाड खोलामा आएको बाढीले बगाउँदा स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएका छन् । वडाध्यक्ष लालबहादुर बमका अनुसार घट्ट गएका उनीहरूलाई खोलाले बगाएको हो । दुहुँ– १ को पिपलचौरीमा दुईवटा घर पहिरोले पूर्ण क्षतिग्रस्त भएको छ । २५ भन्दा बढी घर पहिरोको जोखिममा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री