कहाँ-कहाँ छ आज बाढीको जोखिम ?

काठमाडौं । पुनः सक्रिय मनसुनका कारण गएको बाढी-पहिरो र डुबानमा परेर पछिल्लो चार दिनमा नौं जनाको ज्यान लिएको छ । वर्षापछिको बाढी पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । आजदेखि भने मनसुन केहि मत्थर हुने मौसमविदले बताएका छन् ।

तर, देशका केहि स्थानमा अझै पानी पर्ने भएका कारण बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसमविदले जनाएका छन् । नारायणी र यसका सहायक नदीहरू विशेष गरी मर्स्याङ्दी र कालीगण्डकीमा आज पानीको बहाव बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । कोशी र यसका सहायक नदीहरूमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ र पश्चिम राप्तीमा पनि बहाव बढ्ने जनाइएको छ ।

कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वागमती, पूर्वी राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने जनाइएको छ ।

आज संखुवासभा, सोलुखुम्बु, खोटाङ, पर्सा, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, नवलपुर, पर्वत, स्याङ्जा, तनहुँ, बागलुङ, लमजुङ, कास्की, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, मुगु, अछाम, बैतडी, डोटी, बझाङ, डडेलधुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप