काठमाडौँ । भुपू गोर्खाहरुले १३ दिनपछि अनशन तोडेका छन् । बेलायती प्रधानमन्त्री कार्यालय अघि ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३औँ दिनको दिन तोडिएको हो ।
बेलायत सरकार र अनशनरत पक्षवीच सहमति भएपछि आज लण्डनस्थित नेपाली दूतावासका राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुल पिलाएर अनशन तोडिएको हो ।
भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो । नेपालीहरुको अनशनप्रति बेलायतमा रहेका थुप्रै संघसंस्था, भेट्रानहरुको व्यापक समर्थन रहेको थियो ।
२१ जुलाईबाट १७ दिनसम्म रिले अनशन बसेका उनीहरुको माग सम्बोधनमा बेलायत सरकारले तदारुकता नदेखाएको कारण ७ अगष्टबाट उनीहरुले भोक हड्ताल बसेका थिए । उनीहरुको स्वास्थ्यस्थिती जटिल बन्दै गएपछि सरकारमाथि थप दबाब सिर्जना भएको थियो ।
१९९७ भन्दा पहिले रिटायर भएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन् । सोही मुद्धामा गोर्खालीहरुले बर्षौ देखि गोर्खा सत्याग्रह संघर्ष समितिमार्फतआन्दोलन गर्दै आएका छन् ।




