काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।
सांसद संग्रौलाले सामाजिक सन्जालमा टिप्पणी गर्दै श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरु अफगानिस्तानमा रहेको उल्लेख गर्दै अहिले चर्किएको द्वन्दले उनीहरु जोखिममा परेको बताएकी हुन् ।
उनले नेपालीको सुरक्षालाई उच्च- प्राथमिकता दिएर संरक्षण र उद्दार गर्न र घर फिर्ती प्रबन्ध मिलाउन नेपाल सरकारसँग जोडदार माग गरेकी छन् ।
उनले भनेकी छन् :-
‘नेपालबाट श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरु अफगानिस्तानको घरेलु द्वन्द्वले जोखिमको अबस्थामा रहेका छन् ।अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेपछि बिद्रोही तालिबानले आफ्नो शक्ति मात्र हैन नियन्त्रण क्षेत्र पनि बिस्तार गर्दै लगेको छ।बिश्वका मुलुकहरुले आफ्ना नागरिक फर्काउन थाले पनि नेपालले अहिलेसम्म त्यस्तो खास पहल गरेको देखिदैन । त्यसर्थ नेपालीको सुरक्षालाई उच्च- प्राथमिकता दिएर संरक्षण र उद्दार गर्न र घर फिर्ती प्रबन्ध मिलाउन नेपाल सरकार संग जोडदार माग गर्दछु ।’




