प्रधानमन्त्रीको प्रचार शैलीप्रति कांग्रेस नेताहरू नै असन्तुष्टः भन्छन्- ‘अहिले काम गर्ने बेला हो’

काठमाडौँ । केही दिनयता प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने…’ भन्ने शैलीमा प्रचारात्मक भिडिओ सामग्री बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिरहेको छ । उक्त भिडिओलाई लिएर देउवामा प्रचारको भोक रहेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायत पार्टीकै नेताहरुले पनि देउवाको यो प्रचारशैली देखेर अचम्म मानिरहेका छन् । प्रवक्ता शर्माले त सचिवालयको ध्यानाकर्षण पनि गराएका छन् । बिहीबार राति ट्वीट गर्दै उनले यो भिडिओ बनाउने नभएर काम गर्ने बेला भएको उल्लेख गरे ।

‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो, उहाँलाई सही सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैंले बनाउने छन् भिडिओ नत्र पार्टीले बनाउला,’ शर्माले भनेका छन्, ‘पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ ।’

उनले खोपदेखि भोटसम्मको यो यात्रा तीन तहको निर्वाचनमार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण रहेको उल्लेख गरे । ‘खोपदेखि भोटसम्मको यो यात्रा तिन तहको निर्वाचन मार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ,’ उनले भने, ‘जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन् ।’

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पनि भिडिओ प्रचार तत्कार बन्द गर्न अनुरोध गरेका छन् । ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्युका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडिओ गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालय लाई विशेष अनुरोध गर्दछु,’ उनले ट्वीट गर्दै भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री