काठमाडौँ । देशभर मनसुनी वायुको सक्रिय प्रभावले भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको हो ।
बागमती प्रदेशअन्तर्गत काठमाडौ उपत्यकामा पनि मध्यरातिदेखि नै ठूलो वर्षा भइरहेको छ । मनसुनी वायुका कारण वर्षा अझै केही दिन जारी रहने भएकाले बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेकाले सिन्धुलीका तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ । बाढी पुर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले जोखिम बढेको जनाएको हो ।
कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा रातीसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ । यी क्षेत्रहरुमा चेतावनी जारी गर्नुपर्ने गरी भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ ।
असार १७,बिहान ५:३० बजे
सिन्धुली जिल्ला स्थित कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले,धनुषा,सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरू राती सम्मै सतर्कता साथ सुरक्षित स्थानमा रहुनुहोला। pic.twitter.com/84QyeJIWNY— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 1, 2021




