जातीय विभेदका घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य : विवेकशील साझा युवा संगठन

काठमाडाैं । विवेकशील साझा युवा संगठनले जातीय विभेदका घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएको बताएको छ । बुधवार संगठनका महासचिव सरोज गौतमले एक विज्ञप्ति जारी गर्दै एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु त दुःखद विडम्बना भएको समेत बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,’​बहुलवादी लोकतान्त्रिक गणतन्त्र अङ्गीकार गरेको एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु त दुःखद विडम्बना हो नै तर राज्यले सदियौँदेखि पछि पारिएका समुदायको भर्खर सुनिन थालेको आवाज दबाउने गरी पीडककै पक्षपोषण गरेको दृष्टान्त भयङ्कर लज्जास्पद छ ।’

संगठनले संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधि प्रति निन्दा समेत गरेको छ । जातलाई कारण देखाउँदै रुपा सुनारलाई कोठा भाडामा नदिने घरबेटीलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै अग्रसर भएपछि संगठनले यसको विरोध गरेको हो ।

संगठनले भनेको छ,’प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधि प्रति हामी घोर निन्दा गर्न चाहन्छौँ ।’

संगठनले यथाशीघ्र जातीय छुवाछुतका मुद्दा दर्ता प्रक्रिया छरितो र सहज बनाउन, सहरी क्षेत्रमा हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनको दायरामा ल्याउन र मुलुकको संविधानले सुनिश्चित गरेका समानता, छुवाछुत विरुद्धको हक लगायतका मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्न अग्रसरता लिन सरकारसँग माग गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री