काठमाडौं । ‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेपछि राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको’ निष्कर्षमा पुगेको विपक्षी गठबन्धनले सडक–संघर्षको नीति लिएको छ ।
जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा भएको भन्दै गठबन्धनले सडक–संघर्षमा जाने निर्णय लिएको छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले राष्ट्रपति र सरकारका असंवैधानिक कार्यविरुद्ध कानुनी र राजनीतिक संघर्षलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको नेताहरूले बताएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको पक्षमा देशैभरि व्यापक जनपरिचालन गरी प्रतिगमनका विरुद्ध आमनागरिकलाई सुसूचित गर्ने निर्णय भएको बताए ।
गठबन्धनले संघर्षका कार्यक्रम तयार गर्न कार्यदल बनाएको छ । कार्यदलमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका नेता देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, एमाले नेता भीम रावल संलग्न छन् ।
पाँच विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्दै
पाँच राजनीतिक दलका विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्दैछन् ।
नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंमा आबद्ध विद्यार्थीहरुले दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गर्न लागेका हुन् ।
देशभर प्रदर्शन गर्ने तयारी रहेको संयुक्त विज्ञप्तिमार्फत उनीहरुले जनाएका छन् । जनताको ठूलो त्याग, बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री ओली निरन्तर उद्धत रहेको उनीहरुको आरोप छ ।




