काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रिन आव्हान गरेका छन् । मुस्लिम समुदायको चाड इद-उल-फित्रको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो आव्हान गरेका हुन् ।
जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको उनको भनाई छ । ‘परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु,’ उनले सन्देशमा भनेका छन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा भिन्नै मौलिक पहिचान रहेको बताए । ‘मुस्लिम समुदायको महान् चाड इद-उल-फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको छ ।’




