थपियो निषेधाज्ञा अवधि, अब सात होइन १५ दिन !

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा गरिएपनि अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ । निषेधाज्ञाको अवधि वैशाख मसान्तसम्म लम्बिने भएको हो । जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्‍याएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

दोस्रो लहरको संक्रमणविरुद्ध जुध्न निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ९ पुगेको छ । उपत्यकाका ३ जिल्लासहित बाँके, बर्दिया, सुर्खेत, कालीकोट, बागलुङ र कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ भने सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री