पूर्व निर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । सरकारले कोभिड-१९ जोखिम बढेपछि भौतिक उपस्थितिमा हुने पूर्व निर्धारिक सबै परीक्षाहरू तत्कालका लागि स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार सिंहदरबारमा बसेको बैठकले भौतिक उपस्थितमा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालका अनुसार भर्चुअल र वैकल्पिक माध्यमबाट हुने पठनपाठन भने जारी राख्ने निर्णय भएको छ । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो ।बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ । त्यस्तै गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० बढी संक्रमित भेटिए निषेधाज्ञा लगाउन पनि सीसीएमसीले सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

परीक्षा रोक्ने/नरोक्नेबारे निर्णय लिँदै त्रिवि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजको परीक्षा यथावत राखेको छ । बिहान ७ बजेदेखि परीक्षा चलिरहेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिको आइतबारको बैठकले शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षाहरु तत्काल स्थगित गर्ने निर्णय गरेको थियो । तर आजका लागि पूर्व निर्धारित परीक्षा जारी राखेको त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार बीएड, बीएस्सी र बीएको परीक्षा जारी छ ।

सरकारको निर्णय र भोलीदेखिका परीक्षा के गर्ने भन्नेबारे त्रिविका पदाधिकारीहरुबीच बैठक बसेर निर्णय लिइने सूचना अधिकारी दाहालले बताए । ‘सरकारको निर्णय आउँला, निषेधाज्ञा जारी गर्ने कुरा पनि छ,’ उनले भने, ‘त्यसबारे दिउँसो १ बजेपछि बैठक बसेर निर्णय लिन्छौं र हामी अलग्गै सूचना जारी गर्छौं ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री