दमौली । कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
नगर क्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसायबाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसायलगायतका व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
पछिल्लो केही दिनयता कोभिड–१९ सङ्क्रमितको संख्यामा वृद्धि हुँदै गएकाले यसको असर एवं प्रभाव र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय, दमौली अस्पताललगायत नगरक्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थालाई यसको रोकथाम, नियन्त्रण एवं उपचार सम्बन्धमा आवश्यक प्रचारप्रसार मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।
कोभिडको लक्षण देखिएमा प्रत्येक सोमबार व्यास नगरपालिकाबाट गरिने निःशुल्क पीसीआर परीक्षणका लागि प्रत्येक आइतबार नै नगरपालिकाको स्वास्थ्य तथा जनसङ्ख्या शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ । सङ्क्रमितलाई सामान्य अवस्थामा होम आइसोलेसनमा बस्न र स्वास्थ्य अवस्था जटिल हुँदै गएमा अविलम्ब कोभिड उपचार हुने अस्पतालमा सम्पर्क गरी उपचारका लागि भर्ना हुन नगरपालिकाले आग्रह गरेको छ ।
साथै तनहुँ जिल्लामा कोभिडको असर एवं प्रभावलाई न्यूनीकरण गर्नका लागि दशवटै स्थानीय तहसँग समन्वय गरी आवश्यक निर्णय लिन जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए । बैठकमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्य कार्यालयलगायतको सहभागिता थियो ।
परीक्षा यही वैशाख २१ गतेदेखि
कोरोनाको जोखिम बढ्दै गएपछि नगरपालिकाले जेठ दोस्रो सातादेखि गर्न लागेको परीक्षालाई यही वैशाख अन्तिम सातादेखि सञ्चालनको तयारी गरेको छ । जेठ ९ गतेदेखि गर्न लागिएको परीक्षालाई वैशाख २१ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । ‘वैशाख २१ गतेदेखि परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेका छौँ,’ नगर प्रमुख न्यौपानेले भने ।
बाल विकासदेखि कक्षा ९ सम्मको परीक्षाको मिति तय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार धेरै विद्यार्थी भएका विद्यालयमा तीन चरणमा परीक्षा सञ्चालन हुने छन् । ‘कोभिडको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाएर परीक्षा सञ्चालन गर्न प्रधानाध्यापकलाई निर्देशन दिइएको छ,’ रेग्मीले भने ।




