काठमाडौं । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड नाघेका छन् ।कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो ।
२०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको छ ।
यस अनुसार २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
रिपोर्ट अनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो २०७४ फागुनको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता ५ लाख ४७ हजार ५ सय ८ छन् ।
यस अनुसार समग्र फोरजी डाटा प्रयोगकर्ता मध्ये ३८ प्रतिशत नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता छन् ।
गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार १ करोड ९३ लाख २२ हजार ८ सय ५५ रहेको छ । यसअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक १ करोड ६९ लाख ४४ हजार ५ सय ३९, सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३ सय ५१ तथा पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार ३ सय ७३ रहेका छन् ।
कम्पनीले सेवाग्राहीहरुको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफरहरु उपलब्ध गराइरहेको छ । यस्ता प्याकेज र अफरहरुका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ताको संख्या बढिरहेको छ ।




