काठमाडाैँ । प्रतिनिधिसभा विघटनको कदमपछि नेकपा व्यावहारिक रुपमा विभाजित बन्यो । केही साना दल र स्वयं सत्तामा रहेको नेकपाबाहेक सबै दल सो कदमको विरोधमा उत्रिएका छन् ।
विपक्षी पार्टीका विरोधसभा त भए, भए स्वयं सत्तामा रहेको दल नेकपाले पनि शक्ति प्रदर्शनका नाममा देशभर आमसभा र प्रदर्शन गरिरहेको छ । यो सिलसिला अझै जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले राजधानीको केन्द्र दरबारमार्गमै आज शक्ति प्रदर्शनको आयोजना गरेको छ ।
त्यसका लागि नारायणहिटी दरबार सङ्ग्रहालय छिर्ने मुलगेट अगाडि मञ्च बनाइएको छ । प्रायः व्यस्त हुने यो सडकमै मञ्च निर्माण गरिएपछि रत्नपार्क-जमल-लैनचौर सडकखण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्ड भएर चल्ने गाडीहरुलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । दरबारमार्ग क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ भने केशरमहल–दरबारमार्ग हुँदै पुतलीसडकको खण्डमा पनि सवारीलाई प्रवेश दिइने छैन ।
माघ ९ गतेको जस्तै आज पनि ट्राफिक व्यवस्थापन प्रभावित भएको ट्राफिक प्रवक्ता एसपी श्यामकृण अधिकारीले जानकारी दिए । ‘जुलुस सुरुहुने सबै सडकमा ठूला तथा सार्वजनिक सवारीलाई प्रवेश दिएका छैनौँ,’ प्रवक्ता अधिकारीले भने, ‘रिङ रोडभित्र ठूला सवारीलाई प्रवेश दिनसक्ने अवस्था छैन ।’
यी ठाउँबाट सुरु हुँदैछ जुलुस
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने जनाइएको छ । बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्याली निकालिन लागेको हो ।
कार्यक्रमको प्रचारका लागि बिहीबार साँझ काठमाडौंमा महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मीकी कलेजबाट मार्चपास गरेको थियो । प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधबार राजधानीमा मोटरसाइकल र्याली भएको थियो ।
प्रतिकृया दिनुहॊस