काठमाडौं । आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी घटे पनि यसअघि गरेको सम्भावित कर्जा नोक्सानीको प्रोभिजनबाट गरेको राइट ब्याक र फी तथा कमिसन आम्दानीमा वद्धि हुँदा नबिल बैंकले गत वर्षकै हाराहारीमा खुद मुनाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो चौमासमा २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
जुन गत आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको भन्दा १.२७ प्रतिशतले कम हो । बैंकले गत आथिक वर्षको यही अवधिमा २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले पुस मसान्त सम्ममा ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ९.५३ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले ३ अर्ब ४५ करोड १६ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
खुद ब्याज आम्दानी घटे पनि समीक्षा अवधिमा बैंकले ८१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गर्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्ताको लागि गरेको प्रोभिजनबाट १३ करोड ९१ लाख ५९ हजार राइट ब्याक गरेको छ । जसले गर्दा पुस मसान्तमा बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ५० करोड ९२ लाख ४२ हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी ७० करोड २६ लख ४२ हजार रहेको थियो भने बैंकले सम्भावित कर्जा जोखिम वापतको व्यवस्थाको लागि ११ करोड २३ लाख ९९ हजा प्रोभिजन गरेको थियो । जसले गर्दा बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ५० करोड ९७ लाख ७३ हजार रहेको थियो ।
समीक्षा अवधिमा बैंकले कर्मचारी र अन्य प्रशासनिक खर्च पछि २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । जसबाट ८३ करोड ३ लाख ६३ हजार कर बुझाउँदा बैंकले गत वर्षको भन्दा साढे २ अर्ब माथिले मुनाफा घटेको छ ।
बैंकले समीक्षा अवधिमा उल्लेख्य रुपमा व्यवसाय बढाए पनि ब्याजदर अन्तर (स्प्रेड रेट) मा आएको संकुचनले खुद नाफा घटेको छ । बैंकले पुस मसान्तमा २ खर्ब १४ करोड ९४ लाख २९ हजार निक्षेप संकलन गरेर १ खर्ब ७० अर्ब ५२ करोड १६ लाख ४४ हजार कर्जा लगानी गरेको छ । गत असार मसान्तमा बैंकले १ खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार निक्षेप संकलन गरेर १ खर्ब ४८ अर्ब ५ करोड ४० लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले ४.९ प्रतिशतले निक्षेप बढाउँदा १५.१८ प्रतिशतले कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४.९९ प्रतिशत रहेको बैंकको स्प्रेड रेट समीक्षा अवधिमा ४.०७ प्रतिशत रहेको छ ।
यस्तै बैंकको आधार ब्याजदर ८.१० प्रतिशतबाट घटेर ५.७६ प्रतिशत कायम हुँदा कोभिड प्रभावमा समेत निष्कृय कर्जा घटेको छ । गत वर्षको सोही अवधिमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जा समीक्षा अवधिमा ०.६० प्रतिशत काय भएको छ । बैंकको सीसीडी रेसियो ७२.३९ प्रतिशत र पुँजीकोष अनुपात १३.३१ प्रतिशत रहेको छ ।
१३ अर्ब ४८ करोड १ लाख ५९ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड १ लाख १९ हजार र सेयरधनी सञ्चित कोष (रिटेन अर्निङ) मा १ अर्ब ८५ करोड ८५ लाख ८७ हजार रहेको छ । पुस मसान्तसम्म बैंकले १ अर्ब ८४ करोड २८ लाख ६१ हजार वितरण योग्य मुनाफा आर्जन गरेको छ । बैंकले रेगुलेटरी रिजर्भबाट २१ करोड ४ लाख ४७ हजार राइट ब्याक गर्दा वितरण योग्य मुनाफा आकर्षक देखिएको छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ८ पैसा रहेको छ । र मुल्य आम्दानी अनुपात ३७.८५ गुणा रहेको छ ।




