काठमाडौं । अमेरिकामा भोलि (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन शुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो ३० लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ ।
फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै भोलिदेखि अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।
फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुई डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ ।
शुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहार गृहमा बसिरहेका ३० लाख ज्येष्ठ नागरिकहरूलाई खोप दिइने अपेक्षा गरिएको छ । यसअघि बेलायतमा यो खोपलाई स्वीकृति दिएसँगै खोप लगाउने कार्य शुरु भइसकेको छ भने क्यानडाले पनि स्वीकृति दिइसकेको छ । एजेन्सी




