काठमाडौं । लकडाउन, निषेधाज्ञाका कारण ६ महिनादेखि ठप्प भएको लामो दूरीका यातायात आजबाट सञ्चालनमा आएका छन् । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् ।
हिजो यसै विषयमा सरकारले यातायात व्यवसायीसँग छलफल समेत गरेको थियो । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनु पर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।
यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ ।
कोरोना संक्रमण बढ्न थाल्दा सरकारले चैत ११ मा लकडाउन लागू गरेर लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । बीचमा लकडाउन हटाइए पनि सार्वजनिक यातायात खुलाइएको थिएन । सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको हो । सवारी साधनहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउनुपर्नेछ ।




