कपिलवस्तु । कोरोना महामारीका कारण मुश्किलमा परेका विपन्न परिवारहरुलाई सहयोग गर्न कपिलवस्तुको वाणगंगामा फुड बैंक स्थापना गरिएको छ । स्थापनाको पहिलो दिन नै ६० परिवारलाई राहत वितरण भएको छ ।
लकडाउनले विशेषगरी अति विपन्न र श्रमिक मजदुरलाई विहान साँझ जोहो गर्न समस्या भएपछि स्थानीय युवाहरुको सक्रियतामा बाणगंगा नगरपालिकामा फुड बैंकको स्थापना भएको हो । आइतबार चार नम्बरमा फुड बैङ्कको स्थापना गरेर खाद्य सामाग्री संकलन तथा वितरण शुरु गरिएको छ ।
जहाँ भएकाहरुले बिभिन्न खाद्य सामाग्री संकलन गर्न सक्छन् भने नभएकाहरुले निशुल्क लिएर आफ्नो विहानसाँझको छाक टार्न सक्ने छन् । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नारा राखिएको यो अभियानबाट विपन्न तथा गरिब नागरिकलाई सहज हुने अपेक्षा गरिएको युवा अभियान्ता विशाल अधिकारीले बताए ।
फुड बैंकमार्फत् दाल, चामल, आलु, तेल, नुन जस्ता अत्यावश्यक खाद्यान्न संकलन र वितरण हुने छ । यो कार्यक्रमलाई आवश्यकता अनुसार जिल्लाभर संचालन गरिने पनि युवाहरुले बताएका छन् ।
अभियानमा विशाल अधिकारी, मधुसुधन भुषाल, प्रविन गौतम, सरोज घिमिरे, कोपिला गिरी, हरी अधिकारी, सुशान्त पोखरेल, विवेक पौडेल लगायतका युवाहरु आवद्ध रहेको अभियानमा सहभागी विशाल अधिकारीले खरीबोटलाई जानकारी दिए ।



