उपत्यकामा १ वर्षमा सवारी दुर्घटनामा परि १४५ जनाले ज्यान गुमाए

काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परि एक सय ४५ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६ ०७७ मा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परि एक सय ४५ जनाको मृत्यु भएको र ६ हजार चार सय २४ जना घाइते भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका एक सय १७ पुरुष र २८ महिला छन्। यस्तै दुई सय २९ जना गम्भीर र छ हजार १९५ सामान्य घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भएका दुर्घटनामा दुईपाङ्ग्रे सवारी साधन बढी रहेका छन् ।

एक वर्षमा छ हजार ६३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ । यस्तै, छ हजार २२० कार भ्यान र जीप, दुई हजार ३३ बस, एक हजार ६३२ ट्रक र टिपर, २६७ माईक्रोबस, १४५ टेम्पो र १३२ शारीरिक शक्तिबाट चल्ने सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनामा ४७ पैदलयात्रु, ट्रकबाट पाँच, साइकलबाट पाँच, बसबाट छ, टिपरबाट तीन र कारबाट तीनजनाको मृत्यु भएको छ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउछन् । ‘चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो’, उनले भने । ट्राफि प्रहरीका अनुसार चालकको लापर्वाही, यात्रुको गल्ती, प्रतिस्पर्धाले उछिन्ने काम, तीव्रगति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहुँगो सामान बोक्दा धेरै दुर्घटना हुने गरेको छ ।

काठमाडौँ उपत्यकामा गत वर्ष सवारी दुर्घटनाका कारण २५४ जनाको मृत्यु भएको थियो । काठमाडौँ उपत्यकामा हाल सानाठूला १२ लाख तथा देशभर झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री