काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणले जोखिम बढाइरहेका बेला लकडाउन उल्लंघन गर्दै चलेका २७ सयबढी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबारदेखि आज बिहानसम्म लकडाउन उल्लंघन गर्दै चलेका २ हजार ७ सयबढी गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । उपत्यकाका विभिन्न ठाउँबाट यी गाडीलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । लकडाउन उल्लङ्घन गर्नेमा दुई पाङग्रे गाडी धेरै छन् ।
आइतबार देखि आज बिहानसम्म लकडाउन उल्लंघन गर्दै विहानै सडकमा निस्किएका करिब १८ सय दुई पाङग्रे र ९ सय चार पाङग्रे गाडी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले लकडाउनलाई कडा पारेको छ । आज बिहान १० बजेसम्म मात्रै २ सय ६० सवारी नियन्त्रणमा लिएकोमा २ सय ४४ दुई पाङग्रे छन् भने १६ चार पाङग्रे रहेका छन् ।
अति आवश्यक काम नपरी बाहिर ननिस्कन र निस्कने परे आफ्नो आवश्यकता अनुसार पासका लागि स्वीकृति लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।




